पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै छानबिन समिति गठनको माग



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले अख्तियारले समय यस विषयमा अनुसन्धान गरिरहेको र आफूले त्यही विषयमा सदनमा कुरा राखेको समेत बताए । उनले सदनमा शिष्टतापूर्वक केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरूको फेहरिस्त बताएको र आफूले कुनै संसदीय मर्यादा उल्लंघन नगरेको जिकिर गरे ।


एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने सन्दर्भमा आफूले एमाले सरकारको पालामा भएका भ्रष्टाचारका काण्डहरूलाई आफूले उजागर गरेको उनले बताए । 

उनले आफूले तथ्यका आधारमा नै भ्रष्टाचारको विषय उठाएको र अहिले एमालेले अनावश्यक रुपमा सोही मुद्दालाई उठाएर सदन अवरुद्ध गरेको जिकिर गरे । पशुपतिमा जलहरी राखेको विषयमा एमालेमाथि तथ्यहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो ।