पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ, संसद्‌‌मा उठ्नु उचित होइन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै सो सम्बन्धमा सरकारको धारणा राख्दै उनले यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने बताए । छानबिनमा सरकारको सहयोग रहने उनको भनाइ छ ।


‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानीत सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास को‍षको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन,’ उनले भने, ‘जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषमा लगाइएको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने व्यवस्था पनि रहेकै छ ।’