न्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै



काठमाडौं । १४ महिनादेखि समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि संवैधानिक परिषद्को बैठक बेलाइएको हो । यसअघि प्रधानन्यायाधीश सिफारिसका लागि वैशाख ६ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको थियो ।


संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन् । त्यसयता सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश छन् । सर्वाेच्च अदालत नेतृत्वविहीन रहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि नेपाल बार एशोसिएसनलगायत सरोकारवालाहरूले दबाब दिइरहेका छन् ।

यसअघि यही वैशाख ६ गते बसेको संवैधानिक परिषद्को बैठकले यस सम्बन्धमा अर्काे बैठकबाट निर्णय गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।