नेपालगञ्जमा आयुर्वेद उपचारको आकर्षण बढ्दै



जानकी । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्ट्रेकाकी सुमित्रा सुवेदीलाई थाइराइड र ग्यासट्रिकले सताउन थालेको धेरै वर्ष भयो । उनले धेरै औषधि गर्नु पनि भयो तर, समस्या कम नभएपछि आयुर्वेदिक औषधि खान सुरु गरे ।

उनले आयुर्वेदिक औषधि खान थालेको चार महिना भएको छ । “अरू औषधि जति खाए पनि काम गरेन, महँगो भए पनि आयुर्वेदिक औषधिको ‘साइडइफेक्ट’ छैन”, उनले भने, “स्वास्थ्यचौकीले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क दिने भएकाले राहत भएको छ ।”


नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको चासो बढ्न थालेको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीमा आयुर्वेद उपचार पद्धतिप्रतिको चासो बढेको पाइएको हो ।

बाँके आयुर्वेद केन्द्रका प्रमुख डा. अनिलकुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । “कोरोनाअघि आयुर्वेद सेवाबारे नागरिकमा चासो थिएन, सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन”, डा चौधरीले भने, “कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो, सरकारले पनि विभिन्न कार्यक्रम गरी जनमानसमा आयुर्वेदप्रतिको भरोसा बढायो ।”

कोरोनापछि सङ्घ र प्रदेश सरकारले विभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वबारे जानकारी दिनेदेखि क्वारेन्टिनमा बसेका बिरामीलाई निःशुल्क औषधि वितरण गरी स्वास्थ्यलाभ भएको हुँदा अहिले आयुर्वेद उपचार गराउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको डा. चौधरीले जानकारी दिए ।

विपन्न वर्गका महिलाले बच्चा जन्माइसकेपछि खानपानको कमीले गर्दा बच्चालाई आमाको दूध नपुगेको अवस्थामा स्तनपान सेवाअन्तर्गत दूधवद्र्धकका लागि कुरिलोको चूर्ण र दशमूल तेल निःशुल्क उपलब्ध गराइरहेको छ ।

सरकारी दरमा ल्याब सेवा पनि सञ्चालनमा ल्याइएको छ भने नसर्ने रोग र दीर्घ जीवनका लागि बिहान ५ देखि ६ः३० बजेसम्म योग कक्षा पनि सञ्चालन भइरहेको छ । केही वर्षअघिसम्म पाँचदेखि १० जना उपचारका लागि आउने गरेकामा अहिले भने दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गरेको वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले जानकारी दिए ।

प्रदेश सरकारमार्फत रु पाँच करोडको लगानीमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ । त्यसमा आयुर्वेदका आठवटै अङ्गका विशेषज्ञसहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । डा. रेग्मीका अनुसार अधिकांश बिरामी पाइल्स, फिसर, फिस्टुला, बाथ, आँखासम्बन्धी रोग, पेटसम्बन्धी रोग, नसारोग, महिलाको सेतो पानी बग्नेलगायतका बिरामी उपचारका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेका छन् ।

पछिल्लो तथ्याङ्कानुसार आव २०७७/७८ मा २२ हजार छ सय ६९ ले आयुर्वेदको सेवा लिएका थिए । त्यसमध्ये महिला १० हजार नौ सय ३४ रहेका थिए भने ११ हजार सात सय ३५ पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै आव २०७८/७९ मा ३५ हजार दुई सय ६८ ले सेवा लिएका छन् । त्यसमध्ये १७ हजार तीन सय ८२ महिला र १७ हजार आठ सय ८६ पुरुषले आयुर्वेद सेवा लिएका छन् ।

आयुर्वेद केन्द्रमा उपचारका लागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामी आउने गरेको डा रेग्मीले बताए । दैनिक बिरामीको सङ्ख्या वृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । केन्द्रले न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ ।