नीति तथा कार्यक्रम पुन: लेखन जरुरी छैन, सुझाव समेटे पुग्छ : सांसद पाण्डे



काठमाडाैं । सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रतिपक्षले नीति तथा कार्यक्रम पुनःलेखनको माग गरे पनि सुझाव समेटेर जानुपर्ने बताए । उनले देशको आर्थिक सङ्कट, निष्क्रिय र भ्रष्ट प्रशासन सुधार नभएसम्म कार्यक्रम सफल नहुने धारणा राखे ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, एक हजार दुई सय मेगावट विद्युत् उत्पादन क्षमता भएको जलाशय बूढीगण्डकी आयोजना आगामी बजेटमा समावेश गर्न सुझाव दिए । सांसद अरुणकुमार चौधरीले बजेटमा स्वारोजगारमा जोड दिँदै युवा विदेशिने क्रम रोक्ने कार्यक्रमलाई प्राथमिकता दिनु सुझाव दिए । सांसद चन्द्रकान्त राउतले नीति तथा कार्यक्रम सङ्घीयता विरोधी भएको बताए ।


सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रको साझा समस्यालाई नीति तथा कार्यक्रमले नीतिगत समाधान नदिएको बताए । नीति तथा कार्यक्रम दलाल पुँजीवादको बाटो हिँडेको भन्दै उहाँले यसबाट समाजवादमा पुग्न नसकिने बताए । नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउनका र सुशासन कायमका लागि ठोस् नीतिगत व्यवस्था नरिएको उनको भनाइ थियो ।