नीति तथा कार्यक्रमकाे फाइल खाली, मुख्यमन्त्रीले मागे माफी



हेटौंडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटिएपछि मुख्यमन्त्रीले माफी मागेका छन् ।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम थिएन । फाइल खोलेर हेर्दा खाली भेटिएपछि प्रदेशसभामा सांसदहरुबीच हेराहेर भएको थियो ।


सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम नभेटिएपछि मुख्यमन्त्रीले माफी माग्दै भने, ‘मानवीय कार्यमा यस्तो अवस्था आउँछ । यो सामान्य प्राविधिक त्रुटी हो । यो हाम्रो व्यवस्थापकीय कमजोरी हो ।’ बागमती प्रदेशसभामा आइतबार आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो ।

प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले सरकारले बिनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका थिए । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले भने, ‘सरकारभित्रै समस्या छ भन्ने कुरा यही घटनाबाट प्रष्ट भएको छ । प्रदेश सरकार स्थापनादेखि हालसम्म सबैभन्दा कमजोर नीति तथा कार्यक्रम अहिले नै आएको छ ।’ फाइल उपलब्ध गराइएपछि बैठक सुरु भएको थियो । बैठक जारी छ ।