नागरिक उन्मुक्ति बिनै सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ



सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

जसअनुसार कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् । माओवादीकी गीतादेवी माल भने राज्यमन्त्रीमा नियुक्त भएकी छिन् ।


उनले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको हैसियतमा कार्यभार सम्हाल्नेछिन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शनिबारै शपथ लिएका छन् । गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएपछि शाहले पार्टीका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।

यता सत्तारुढ दल नाउपा सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो । 

नाउपाको नेता तथा सांसद लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री शाहले आफूहरूलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरेको दुखेसो सुनाए । उनले भने, ‘हामीलाई जुन सकै सरकारमा बाइपास गरियो । अधिकारबाट वञ्चित परेको समुदायको प्रतिनिधि हामीले गर्दै आएका छौँ । अझै हामीलाई अधिकारबाट वञ्चित गरिँदैछ । शीर्ष नेताबीचको सहमति अनुसार हामीले २ मन्त्रालयको अडानमा रहेका हौँ ।’ 

मुख्यमन्त्री नियुक्त भएको १ सय दिन नाघिसक्दा पनि अझैसम्म आफनो सरकारलाई पूर्णता दिन भने सकेका छैनन् । । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।