नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने



बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने भएको छ । कुट्टीमा आस्था राख्नेका लागि आश्रयस्थलसँगै आवश्यक पूर्वाधार निर्माणका लागि कुट्टी संरक्षण व्यवस्थापन समितिको तर्फबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

कुट्टीको स्थलगत अवलोकनका क्रममा प्रदेशसभा सदस्य कृष्णा केसी, समाजसेवी प्रवेज अलि सिद्दिकीलगायतको टोलीसमक्ष समितिका अध्यक्ष तथा पुजारी हाजी बरकत अली शाहले कुट्टीमा भौतिक संरचना निर्माणको आवश्यकता रहेको जानकारी दिँदै यसतर्फ ध्यानाकर्षण गराएका छन् ।


उनले शाह सुल्तान बाबा दरगाह कुट्टीमा दैनिक आउने भक्तजनको लागि बस्नका लागि स्थान अभाव भएकाले बस्ने स्थान निर्माणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले सुल्तान बाबा दरगाह कुट्टीमा दैनिक आउने भक्तजनका लागि आश्रयस्थलको अभाव रहेको भन्दै यहाँको भौतिक पूर्वाधार विकासका लागि आफूले प्रदेश सरकारका तथा स्थानीय तहबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कुट्टीमा सबै धर्म र सम्प्रदायका मानिस आउने भएकाले सामाजिक तथा धार्मिक सद्भावको प्रतिकका रुपमा यसलाई लिन सकिने उनको भनाइ थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ बजेटमार्फत कुट्टी व्यवस्थापनमा लगानी हुने जानकारी दिए । उक्त कुट्टी करिब १८ बिघा जग्गामा रहेको छ ।

नरैनपुर गाउपालिकालाई जिल्लाकै तपोभूमिका रुपमा लिने गरिन्छ । यहाँ सन्तानेश्वर महादेव, सुन्दरमुन्दर, बाबा बर्फानी, गोवर्द्धन धामलगायत धार्मिक महत्वका स्थान छन् । यस क्षेत्रमा रहेका धार्मिक महत्वका स्थानले यहाँ पर्यटन प्रवर्द्धन समेत गरिरहेको छ ।