नक्कली शरणार्थी प्रकरण : सांसद रायमाझीलाई किन कारबाही गर्न चाहँदैन एमाले ?



काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानलाई सघाउने भएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘जुन अनुसन्धानको प्रक्रियामा कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधि र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने । उनले दोषी ठहर भइनसकेको अवस्थामा निलम्बन, निष्कासन या अन्य कारबाहीको कुरा नआउने बताए ।


एक पदाधिकारीका अनुसार यो एमालेको पर्ख र हेरको रणनीति हो । ‘आरोप लाग्दाबित्तिकै पक्राउ पुर्जी जारी हुने र निर्वाचित सांसद निलम्बन हुने अवस्था देखियो । केही दिन पर्खदा उहाँ निलम्बन नहुने अवस्था पनि हुन सक्छ । अरु पार्टीका नेताहरुबारे सरकारको रवैया के हुन्छ त्यो पनि हेर्नुपर्छ,’ ती पदाधिकारीले भने, ‘पार्टीलाई धेरै क्षति हुने अवस्था आउदा आन्तरिक कारबाहीदेखि अरु उपाय त हुन्छन् नै । संसद्‍मा एक अंक पनि नघटोस् भन्ने चाहना त हुने नै भयो ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा रायमाझीमाथि पक्राउ पुर्जी जारी भएको छ । तर उनी फरार छन् ।