नक्कली शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन अध्ययन गर्न आठ सदस्यीय टोली गठन



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय टोली बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता गर्न आठ सदस्यी टोली गठन गरिएको हो ।

पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले आज प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने जानकारी दिएका छन् ।


सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घण्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने जनाइएको छ । पीडितहरूले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू गरेको थियो । पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग लिएको बयान तथा सोधपुछका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, खाँणका सहयोगी नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।

सोही प्रकरणमा मुछिएका निरज राई र प्रतीक थापा अहिलेसम्म फरार छन् । उनीहरूविरूद्ध प्रक्राउ पुर्जी जारी भइसकेको छ । थापा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन् भने निरज पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई छोरा हुन् । राई र थापा बाहेक यो प्रकरणमा जोडिएका अन्य व्यक्तिको प्रहरीले खोजी जारी रहेको प्रहरीले जनाइको छ । पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।