नक्कली शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा एमालेको सहयोग र समर्थन छ : उपमहासचिव गुरुङ



काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८०-८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन् ।

‘नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ’, उपमहासचिव गुरुङले भने, ‘सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरू कोही पनि नछुटुन्, निर्दोष व्यक्ति कोही पनि परोस् भनी लागोस्’, उनले जोड दिए ।


यस घटनामा संलग्न भनिएका पार्टीका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरुङले सदनलाई जानकारी गराए ।

मन्दीमा फसिरहेको अर्थतन्त्रलाई उकास्ने प्राथमिकता र सिद्धान्त आउनुपर्नेमा जोड दिँदै उनले नीतिगत, संरचनागत र सिद्धान्त प्रस्ट हुने गरी प्राथमिकता नआएको बताए । ‘बजेटले आत्मविश्वास जगाउनुपर्छ, त्यो विश्वास जगाउने प्रयास प्राथमिकतामा देखाउन सकेको छैन’, उपमहासचिव गुरुङले भने । उनले फजुल खर्च कम गर्न, सङ्घीय तथा प्रदेश सरकारका मन्त्रालयका सङ्ख्या घटाउन र विभागलाई पनि घटाउन सुझाव पनि दिए ।