नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेकपा एसद्वारा प्रदर्शन



काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै आज देशभर दबाबमूलक कार्यक्रम गरेको छ ।

पार्टीआबद्ध २२ जनवर्गीय सङ्गठनले सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी सजायका लागि सबै जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । सरकारले कारबाही प्रक्रिया सुरु गरेपछि पारदर्शी छानबिनमा दबाब दिन नागरिक सभा, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।


मोर्चा फाँट इञ्चार्ज एवं पार्टी उपमहासचिव डा विजय पौडेलले सरकारले गरेको छानबिनको सराहना गर्दै भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।