त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन : झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । सोमबार अनेरास्ववियूको ५९ औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार रुपी अजिङ्गरले सिंगो समाजलाई शास फेर्न नसक्ने गरी बेरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचार रुपी अजिङ्गरले सिंगो समाजलाई शास फेर्न नसक्ने गरी बेरीरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले देशका होनाहार श्रमजीवि युवाहरु खाडी मुलुक र मलेसिया तथा युवा विधार्थीहरु अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।’


उनले यस्तो बेला समाजवादतिरको यात्रालाई तीब्र र व्यापक पार्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी छ र समाजवाद तिरको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ । तर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरु मुलुकको प्रधान अन्तरविरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिन्छन् ।’