काठमाडौं । पूर्वमन्त्री उर्जामन्त्री तथा नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज (बिहीबार) अदालतमा पेश गरिने भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप हिजो (बुधबार) बुटवलबाट पक्राउ परेका थिए । सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदैछ।
नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। छोरा पक्राउ परेपनि सांसद टोपबहादुरलाई भने प्रहरीले अहिलेसम्म समातेको छैन, उनी गृह जिल्ला अर्घाखाँची छन्।
यसैगरी, ठगी प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् । पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सोही मुद्दामा मंगलबार प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।