टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छ : रेशम चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर सोमबार बिहान जेलमुक्त भएका चौधरीले पत्रकारहरुसँग कुरा गर्दै टीकापुर घटनाको पुनः छानबिन हुनुपर्ने घटनामा निर्दोष कोही पर्नु नहुने बताएका हुन् ।

उनले टीकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताए । उनले भने,‘म पनि उहाँहरुलाई सघाउन चाहान्छु र सिंगो नागरिक उन्मुक्ति पार्टी पनि उहाँहरुलाई सघाउन चाहान्छ ।’


२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

सोही घटनामा मुख्य दोषी ठहर गर्दै रेशम चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो । टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार बिहान रिहा भएका हुन् ।