काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गत नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ ।
यसअघि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पढेर सुनाउने प्रमुख तीन दलबीच सहमति भएको थियो । राष्ट्रपति पूर्णरुपमा स्वस्थ्य भइनसकेकाले प्रधानमन्त्रीले प्रस्तुत गर्ने छलफलपछि सहमति भएको हो । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।