जमुनाह नाका आज रातिदेखि ७२ घण्टासम्म बन्द  



बाँके । नेपाल–भारत सीमास्थित जमुनाह नाका बन्द हुने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण सीमा नाका बन्द हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज राति १२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ ।


सोमवार निर्वाचन सुरक्षा प्रयोजनका लागि सीमा नाका बन्द गर्ने विषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सिमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिएका छन् । सो समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन् ।