चन्द्र भण्डारीलाई ओलीले भने- ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो, निको भएर आउनुभयो, खुसी लागेको छ’



काठमाडौं । बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा आएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आए ।

भेटमा भण्डारीले भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच ।’


‘मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ,’ भण्डारीले स्मरण गरे । एमाले अध्यक्ष ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’

भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गराए । सभामुख घिमिरेले एक साताअघि निवासमै गएर सांसद भण्डारीसँग भेट गरेका थिए । सभामुखले पनि भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए ।