खेलकुद विकासमा स्थानीयतहको प्रतिबद्धता अपरिहार्य



महोत्तरी । खेलकुद गतिविधि बढाउने भरपर्दो माध्यम भएकाले यसको विकासमा स्थानीय तहदेखि नै पहल हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

आज नेपाल सितोरियो कराते सङ्घ महोत्तरीको कार्यालय उद्घाटनका अवसरमा सहभागीले खेल मुख्यतः युवा सहभागी हुने क्षेत्र रहेको हुँदा यस क्षेत्रको विकासले सङ्गठित, अनुशासित र स्वस्थ समूह निर्माणमा सहयोग पुग्ने बताए ।


नेपाल कराते महासङ्घका केन्द्रीय सह अध्यक्ष दावा गुरुङले युवालाई कुलतबाट जोगाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए ।

महासङ्घका केन्द्रीय सदस्य रामसिंह ठकुरी, मधेस प्रदेश अध्यक्ष रामचन्द्र ठाकुर, जिल्ला खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष सुवासचन्द्रलाल कर्णसहितको सहभागिताको कार्यक्रममा महोत्तरीमा कार्यालय सञ्चालनमा आएसँगै अब कराते खेलको संस्थागत विकास हुने विश्वास गरिएको छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षत्रीले नगरमा सबै विधाका खेलको समुचित विकासका लागि संस्थागत प्रयत्न अघि बढेको बताए ।

‘हामीले खेल जगत्मा सक्रिय रहनुभएका नगर खेलकुद विकास समिति गठन गरेका छौँ, समितिले छोटो अवधिमा खेलका विभिन्न विधाका प्रतिस्पर्धा आयोजना गरेका र गरिने क्रममा छन्’, नगर प्रमुख क्षत्रीले भने, ‘बर्दिबासबाट खेललाई मधेसभरिमै चिनाउने गरी थप प्रयत्न अघि बढाइँदै छन् ।’