कम्युनिष्टहरु गम्भीर हुनुपर्ने बेला आयो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको परिवर्तनमाथि खतरा देखिन थालेकाले कम्युनिष्टहरु गम्भीर हुनुपर्ने बेला आएको बताएका छन् ।

५९ औं विद्यार्थी दिवसको अवसरमा बिभिन्न बिद्यार्थी संगठनहरुले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको विद्यार्थी दिवस र अवको बाटो विषयक कार्यक्रममा अध्यक्ष नेपालले संविधान, संघीयता नै संकटमा पर्न थालेको भन्दै कम्युनिष्टहरुले गम्भीर भएर आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने बताएका हुन् ।


उनले मुलुकको व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी रहेकाले कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राखे । उनले युवाहरुलाई मुलुकभित्र नै उत्पादनशिल काममा लाग्न सके मुलुकको समृद्धि हुने बताए ।

त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताए । उनले वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उनले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको धारणा राखे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख अग्नि सापकोटाले कम्युनिष्टहरुलाई एकीकृत गरेर मुलुकमा देखिएका चूनौतिको सामना गर्नुपर्ने बताए । उनले मुलुक राष्ट्रिय रुपमा असाधारण अवस्थामा रहेको भन्दै यसलाई सामना गर्नका लागि सवै शक्ति एक हुनुपर्ने धारणा राखे । उनले आफु सभामुख हुँदा १४ सांसदमाथि कारवाहीको सूचना टाँस नगरेपछि हमलाको प्रयास भएको जिकिर गरे ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकको परिवर्तन नचाहनेहरु अहिले उत्साहित भएको भन्दै सवै विद्यार्थी युवा बर्ग सचेत हुनुपर्ने बताए । शक्तिकेन्द्रको एजेण्डालाई कार्यान्वयन गर्ने प्रयासलाई असफल पार्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकको परिवर्तन नचाहनेहरु अहिले उत्साहित भएको भन्दै सवै विद्यार्थी युवा बर्ग सचेत हुनुपर्ने बताए । शक्तिकेन्द्रको एजेण्डालाई कार्यान्वयन गर्ने प्रयासलाई असफल पार्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्थाका कारण मुलुकमा समस्या देखिएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताए । उनले कम्युनिष्टहरुलाई अव हार्ने छुट नरहेको अव लुटेराहरुको व्यवस्थालाई हटाउनुपर्ने जिकिर गरे । उनले शैक्षिक रुपान्तरण गरेर मुलुकमा नै युवाहरुलाई परिचालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे ।