कनकाईका पशुपालक कृषकलाई बीमा रकम वितरण



बनियानी । झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमाबापतको रकम पाएपछि दंग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमाबापतको रकम प्राप्त गरेका हुन् ।

कनकाई–८ का प्रेम कार्कीले १२ हजारको बाख्राको बीमा गरेकामा रु १० हजार आठ सय पाएको बताए । ‘पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा लागेन, बीमा रकम पाएकामा खुसी लागेको छ’, उनले भने, ‘मैले सबै गाईवस्तुको बीमा गराएको छु ।’


त्यस्तै अर्का कृषक दीपककुमार पाण्डेले बाख्रापाठाको १३ हजारको बीमा गराएकामा बीमाबापतको रकम पाएका छन् । उनले अन्य कृषकले पनि सरकारले ल्याएको पशु बीमा कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए । कनकाईमा कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र अभियान नेपालको सहजिकरणमा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजनाअन्तर्गत पशु बीमा कार्यक्रम सञ्चालन भइरहेका छ ।

कार्की र पाण्डेजस्तै कनकाईका पशुपालक कृषकले छ हजार तीन सयदेखि एक लाख ३६ हजारसम्म पशु बीमाबापतको रकम पाएका छन् । नगरपालिकाले बीमा गरेका ३७  पशुको कुल १० लाख ५७ हजार सात सय बीमा रकम कृषकलाई प्रदान गरिएको हेफर प्रोजेक्ट नेपालका कर्मचारी चन्दा सिटौलाले जानकारी दिए ।

कनकाई नगरपालिकाले सरकारले लागू गरेको पशु बीमाअन्तर्गतको पशु बीमा गर्न चाहने कृषकको बीमाबापत ७५ प्रतिशत रकम व्यहोर्ने गरेको छ । सरकारले लागू गरेको पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र कृषकलाई पशु बीमा कार्यक्रममा सहभागी गराउन नगरपालिकाले बीमा रकममा समेत अनुदान दिइरहेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।

‘कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न र केही भइहाले त्यसबापतको राहत दिन नगरपालिकाले सरकारको नीतिअनुरूप थप सहयोग गरिरहेको छ’, उनले भने, ‘पशु बीमा कार्यक्रमबाट केही कृषकले लाभ लिइरहनुभएको छ, केहीले लिनुभएको छैन, सबै कृषकलाई पशु बीमा गराएर सुरक्षित र व्यावसायिक पशुपालन गर्न म आग्रहसमेत गर्दछु ।’