काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी रहेको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरण धेरै मानिस ठगिएर काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि सार्वजनिक भएको बताए ।
आज (बिहीबार) केन्द्रीय कमिटी बैठकका लागि ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । कार्यालयमा प्रवेश गर्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिँदा असन्तुष्ट हुँदै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराउन पुगेका थिए । आज भने उनले यो प्रकरण सार्वजनिक भएकोमा आफूलाई खुशी लागेको बताए ।
‘एक ढंगले साह्रै ठूलो ढंगमा ठगी भएपछि नियन्त्रण बाहिरको परिस्थितिमा यो प्रकरण बाहिर आएको हो’, ओलीले भने, ‘म त यो प्रकरण अघि बढेकोमा खुसी छु ।’ उनले यस प्रकरणमा दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताए ।