ए डिभिजन लिग : फ्रेन्ड्सद्वारा खुमलटार पराजित, मनाङ र पुलिस बराबरीमा



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकाल्दा मनाङ बराबरीमा रोकिएको छ । सोमबार ललितपुरको च्यासल खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सको जितमा रफिक अमानुले चौथो र स्रोह्रौं मिनेटमा गोल गरे भने सन्तोष खत्रीले ७८ औं मिनेटमा गोल गरे ।खुमलटारका लागि मिसुकेले ६७ मिनेटमा सान्त्वना गोल फर्काए । फ्रेन्ड्स १६ खेलबाट १९ अंक सहित तालिकाको ९ औं स्थानमा रहेको छ भने खुमलटार १६ खेलमा १७ अंक सहित तालिकाको १३ औं स्थानमा झरेको छ ।


त्यस्तै सोमबार नै एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका छन् । मनाङका लागि रोशन राना मगरले ३३ औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४ औं मिनेटमा गोल गरेका थिए ।

पुलिसका लागि अहमद हिजाजीले १६ औं र ७१ औं मिनेटमा गोल गरेका थिए । मनाङ १६ खेलबाट २० अंक सहित सातौ स्थानमा छ । पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।