एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो सभामुखलाई दोस्रो पत्र



काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । प्रहरी प्रधान कार्यालयले सभामुख घिमिरेलाई आइतबार दोस्रो पत्र पठाएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी प्रधान कार्यालयबाट कोइरी पक्राउका लागि सहयोग गर्न पत्र पठाएको जानकारी दिए । प्रहरीले यसअघि गत पुस ७ गते पनि पत्र पठाइएको थियो । तर पुसको पत्रलाई लिएर कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। अर्कोतिर उनले प्रतिनिधि सभाका केही बैठकमा भाग लिएका थिए।


पछिल्लो समय उनले आफू बिरामी रहेको भन्दै सभामुखलाई पत्र पठाएका थिए । २०७२ को मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। कोइरीमाथि विकको हत्या आरोप छ।