एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । हिजो बिहीबारदेखि पार्टी मुखयालयमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

केन्द्रीय कमिटी बैठकमा आज (शुक्रबार) देखि पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।


बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।

समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव पोखरेलले जानकारी दिए ।

बाँकी रहेका प्रतिवेदन शुक्रबार (आज) नै प्रस्तुत गरिनेछ । प्रतिवेदन प्रस्तुत भएपछि समूह बनाएर छलफल गरिने एमालेले जनाएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् ।