एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उनले काठमाडौंभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताए ।


‘काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ’, उनले भने ।

काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले काठमाडौं उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए । काठमाडौं संसारको प्रदूषित सहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सकेमात्र काठमाडौंको वातावरण राम्रो हुने बताए । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगदीश्वरनरसिंह केसीले काठमाडौंलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन व्यक्तिबाटै पहल हुनुपर्ने बताए ।

काठमाडौंभित्र भद्रगोल विकासलाई अन्त्य गर्दै व्यवस्थित विकासमा सबै लाग्नुपर्ने उनको भनाइ थियो । नेता केसीले निरोगी र स्वस्थ्य मानिस बन्नका लागि व्यक्ति स्वयम् लाग्नुपर्ने बताए ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्र आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको बताए ।

यस्तै साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा प्रदान गर्न नगरपालिकाले काम सुरु गरिसकेको उनको भनाइ थियो । वातावरण संरक्षणका लागि नपाले काम गरिरहेको नगरप्रमुख महर्जनले बताए ।

वि.सं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौंको उत्तरी क्षेत्रको टोखा र तारकेश्वर क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।

सो केन्द्रले हालसम्म देशका विभिन्न दुई सयभन्दा बढी क्षेत्रमा पुगेर स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।