अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका हुन् ।


‘हजारौँ आयोजनाको ठेक्का लागिसकेको छ । तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो’, अर्थमन्त्री महतले भने, ‘सरकारी राजस्व कम छ । अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ । तर हामीसँग स्रोत कम छ ।’

अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको पनि अर्थमन्त्री महतको भनाइ छ । ‘लगानीलाई सहज बनाउनुको विकल्प छैन । जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ । नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ’, उनले भने ।

अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा महतले बताए । अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको पनि उनको भनाइ छ ।