अमेरिकामा नेपाल चिनाउँदै ह्यारी



वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् ।

आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत ध्रुवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा. ह्यारी भण्डारी ।


अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन् । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो ।

केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील छन् । कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र हुनुभन्दा एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ ।

अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरुकै पदचाप पछ्याउँदै छन् । उनको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उ्नी उदाहरणीय बनेका छन् । उनी सफलता पछ्याउँदै अघि बढेका छन् ।

अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्ने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिएका थिए । मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उनको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् । भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पुर्याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएका छन् ।

उनले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लागेका थिए। आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उनी बताउछन् ।