काठमाडाैँ । नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिए । प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ ।
उक्त महको बजार मूल्य रु पाँच लाख रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।