काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् ।
बालुवाटारस्थित सभामुख निवासमा बिहीबार बुढामगरलाई स्वागत गर्दै उनीहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरे ।
सभामुख घिमिरेले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’ उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको सङ्ज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन् ।
त्यसक्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गरेका थिए । बधाई पत्रमा उनले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राखेको विश्व कीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन् ।
रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।