काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए ।
अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको समेत बताए ।
“राज्यको ढुकुटी खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो । राज्यको ढुकुटी अर्बौको सम्पत्ति कुम्लाउनविरुद्ध अख्तियारले छानबिन गर्नुपर्ने छ,” उनले भने, “तर भ्रष्टाचारका मुद्दालाई अख्तियारमा त्यतिकै राखेको छ ।”
उनले सरकारले भूटानी शरणार्थी वर्गीकरण नगरेर अयन्त्रबाट आएको, भुटानबाट अपराध गरेर आएका भनेर चार बुँदे सहमति गरेपछि शरणार्थीलाई भुटान फर्काउन समस्या भएको बताए ।
उनले नेपाली भाषी भुटानी योजनाबद्ध ढङ्गले लखेटिएको र उनीहरुलाई भुटान फिर्ता पठाउन सम्भव नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा आफूले भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पठाएर समाधान गर्न सुझाव दिएको बताए।