शरणार्थी प्रकरणमा ओलीले भने– सांसदलाई बाटोमै समाउनु रहस्यमय, अध्ययन गर्दैछौँ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव टोपबहादुर रायमाझीलाई बाटोबाटै समाउन खोज्नु रहस्यमय भएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले पटक पटक मन्त्री भइसकेको व्यक्तिलाई बाटोबाटै समाउन खोज्नु गलत भएको बताएका हुन् ।


अध्यक्ष ओलीले भने, ‘बहालवाला सांसद त्यसमा पनि उपप्रधानमन्त्री र पटक पटक मन्त्री भइसकेको व्यक्तिलाई बाटोमै हत्कडी लगाउन खोज्नु रहस्यमयी छ ।’

यो प्रकरणमा कसैलाई नियतबश तान्न खोजिएको हो भने आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, ‘यसबारेमा हामी अध्ययन गर्दैछौं । यदि नियतबश तान्न खोजिएको हो भने चुप लागेर बस्दैनौं।’

अध्यक्ष यो प्रकरणमा दोषी देखिएकालाई भने छाड्न नहुने बताए । प्रहरीले यो प्रकरणमा संलग्न भएको आरोपमा टोपबहादुरका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ भने टोपबहादुर भने पक्राउ परेका छैनन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।

अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन् ।