रोष्ट्रममा उभिएर को दोषी को निर्दोष भन्न हामी न्यायाधीश होइनौंः विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको भन्ने एमाले अध्यक्ष ओलीको भनाईप्रति आपत्ति जनाएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले यस प्रकरणमा परेका कसैलाई पनि कांग्रेसले रोष्ट्रममा उभिएर निर्दोष भन्न नसक्ने बताएका हुन् ।


उनले भने, ‘प्रमुख विपक्षी दलको नेताले संसद्मा सम्बोधन गर्दै दोषीलाई उम्काउँदै छ भन्नुभएकोमा राज्यले ध्यान देला नै । निर्दोष मान्छे फसाउन खोज्दै छ भन्नुभयो । अन्यन्त्र हैन, यही रोष्ट्रममा उभिएर भन्नुभयो । प्रहरीले छानबिन गर्दै छ । हामी न्यायाधीश होइनौँ । यसमा म विमति राख्न चाहन्छु । कोही आवेगमा आउनु जरुरी छैन ।’

उनले अहिले सरकारलाई साथ दिने र बधाई दिने बेला भएको भन्दै अनुसन्धान प्रभावित पार्ने गरी कोही बोल्नु नहुने बताए । उनले आफूहरूले भ्रष्टाचार मुछिएका नेपाली कांग्रेसका नेताहरूको पक्षमा कहिल्यै पनि नबोल्ने बताए । उनले सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला सत्तापक्ष र प्रतिपक्ष दुबैले साथ दिनुपर्ने पनि बताए ।

उनले भने, ‘यो समयमा सरकारलाई साथ दिने समय हो। भ्रष्टाचारको फाइल खोलेको बेला बधाई छ सरकार भन्ने हो। यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि सरकारलाई समर्थन गर्ने हो। यो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला होइन। कांग्रेसका नेताहरू पनि भ्रष्टाचारमा जेल हुनुहुन्छ। रोस्टममा उभिएर न विगतमा हामीले निर्दोष भन्यौँ न आज भन्छौँ। केवल यति भन्छौँ अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले पनि बोल्न हुन्न।’