रेशम चौधरीलगायत टीकापुर मुद्दाको बहस सकियो, आजै फैसलाको सम्भावना



काठमाडौं । रेशम चौधरीलगायत टीकापुर घटनासम्बन्धी मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस आज (मंगलबार) सकिएको हो । उक्त मुद्दाको पैरवी सकिएको र आजै फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस सकिएको हो । इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । यसअघि सोमबार सो मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो ।


सरकारले वैशाख २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई छुटाउने गरी कानुन बनाउन केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको थियो । मुद्दा २०७७ साल फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो । ०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । थरुहटको आन्दोनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएका थिए ।