राष्ट्रपति पौडेललाई गगन थापाको सुझाव : उपचार खर्च आफै बेर्होछु भन्नुहोस्



काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफै बेहोर्नु पर्ने बताएका छन् ।

आज (सोमबार) नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैले आफ्नो उपचार खर्च बेहोर्नु पर्ने बताएका हुन् । भारतबाट उपचार गरेर हिजो आइतवार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट बेहोर्नुपर्ने उनले बताए ।


महामन्त्री थापाले राष्ट्रपति पौडेललाई उपचार खर्च आफै बेहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे । गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्य कोषबाट उपचार गर्ने र आम नागरिकले भने आफै उपचार गर्नुपर्ने विभेद हुन नहुने उनले बताए ।

उनले भने, ‘नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, नागरिकले तिरेको करबाट बाहिर लगेर उपचार गर्ने अनि उसको उपचार खर्च नागरिकले बेहोर्नुपर्ने अथवा राज्य कोषले बेहोर्नु पर्ने । तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दा गर्दै पैसा तिर्न नसकेर कोही हाम फाल्नुपर्ने, कोही अस्पतालमा बन्धक बन्नुपर्ने अवस्था गलत हो । यो गर्न पाइँदैन । यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानुन बनाएका छौँ । त्यो कानुनलाई संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ । यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ । म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पु¥याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’