काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि विकास र समृद्धि, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा रेकर्ड बनेको बताए । झण्डै साढे दुई सय वर्षसम्म राजतन्त्रले देशलाई कंगाल पारेको, विकृति र विसङ्गति, सांस्कृतिक विचलन धेरै नै ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र हरेक दृष्टिकोणले हिजोको निरङ्कुशतन्त्र र राजतन्त्रभन्दा गुणात्मक ढंगले राम्रो रहेको बताए ।
‘मैले सदनमा गणतन्त्र आउनुअघिको नेपालको विभिन्न तथ्यांक र सूचक यी थिए, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्रलगायत विषयमा के थिए र अहिले २०८० सालसम्म आइपुग्दा ती तथ्यांकको अवस्था के छ भनेर तुलनात्मकरुपले राखेको थिएँ । त्यसले गणतन्त्र देश र जनताका पक्षमा छ भन्ने प्रमाणित भएको छ’, उनले भने।
नेपाल सरकारअन्तर्गतको तथ्याङ्क कार्यालयको आधिकारिक र वैज्ञानिक तथ्यांकलाई आफूले संसद्मा प्रस्तुत गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले शुक्रबार संसद्मा पेस भएको नीति कार्यक्रममा श्रमिक र तल्लो वर्गलाई राहत दिने विषयलाई प्राथमिकता दिइएको बताए। ‘नीति कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘बजेटमार्फत थप सम्बोधन गरिनेछ । उत्पादनको वृद्धि र रोजगारीको सिर्जनामा वर्तमान सरकार दृढ छ ।’
भुटानी शरणार्थी प्रकरणलाई मात्र सरकारले प्राथमिकता दिएको भन्ने आरोप गतल रहेको उल्लेख गर्दै उनले सुशासनको दृष्टिकोणले आवश्यकपर्ने सबै विषयमा सरकारले पहलकदमी लिइरहेको बताए।
‘पुँजीबजारसँग सम्बन्धित ‘सेटिङ’लाई भत्काएका छौँ, राजस्व वृद्धि गर्न त्यसलाई सुदृढ गर्न लागेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘विप्रेषण वृद्धि गर्न गम्भीर कदम चालेका छौँ । विदेशमा रहेका लाखौँ श्रमिकको जीवन र भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आबद्धता गरेका छौँ ।’
सुशासनको कामलाई दृढताका साथ अगाडि बढाउन आफूलाई निकै गाह्रो परेको उनको भनाइ छ । ‘यसो गरिराख्न धेरै सजिलो होला भन्ने नठान्नु होला, नेतृत्वलाई धेरै खालका दबाब, घेरा र अप्ठ्यारा छन्’, प्रधानमन्त्री दाहालले भने, ‘तर खुसीको कुरा के छ भने हामीले सुशासन, विकास, समृद्धि र आर्थिक समस्यालाई क्रमशः समाधान गर्दै जान थालेका छौँ, मुख्यतः भ्रष्टाचारका विरुद्ध गम्भीर कदम चालेका हुनाले आम जनसमुदायमा ठूलो आशा र भरोसा सञ्चार भएको छ ।’
सरकारले सुशासनको नयाँ अभियान सञ्चालन गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सुशासनको दृष्टिकोणले नयाँ अभियान, आन्दोलन र प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले सरकार सुशासन कायम गराउन दृढताका साथ अगाडि बढेको बताए । ‘कोही पनि द्विविधामा नपर्नु होला, सुशासन कायम गर्न सरकार र पार्टी दृढ छ । यसलाई अन्तिम र तार्किक निष्कर्षमा पुर्याएर छाडिन्छ’, उनले भनिन् ।
कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख नेता बस्दा सुशासनको अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर प्रचार र शंका गर्ने गरिएको उनको भनाइ छ । ‘हामी बसेको संसद्लाई प्रभावकारी बनाउन हो । सदनभित्र सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कसरी कायम गर्ने भन्ने मूलभूत विषय हो’, प्रधानमन्त्री दाहालले भने ।
शीर्ष नेताले छलफल गर्नुको तात्पर्य बाह्रबुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकसाथ उभिएका प्रमुख दल देशको वर्तमान परिस्थितिमा परिवर्तनको रक्षाका निम्ति एक ठाउँमा उभिनुपर्ने दिन आउनसक्छ भन्ने हिसाबबाट पनि आफूहरू निरन्तर छलफल गरिरहेको प्रधानमन्त्री दाहालले बताए। उनले सदनलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने र परिवर्तन विरोधी प्रवृत्ति तथा शक्तिका विरुद्ध सहकार्यको आवश्यकताबारे छलफल गर्न मात्रै शीर्ष नेता भेटवार्तामा बस्ने गरेको प्रष्ट्याए।
‘अहिले भुटानी शरणार्थीको विषयलाई लिएर हामीले साझा धारणा बनाएका छौँ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरोस् तथा प्रहरीको अनुसन्धानलाई कहीँकतैबाट दबाब र हस्तक्षेप हुन नपाओस्, हामीले भित्र, बाहिर गरेको कुरा यही हो, यसमा भ्रम पाल्नुपर्ने केही कारण छैन’, प्रधानमन्त्री दाहालले भने ।