काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०८०/८१ बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको आएकाले सकारात्मक भएको बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज एक विज्ञप्ती जारी गरी वजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना ल्याएकाले सकारात्मक रहेको बताएका हुन् ।
महासङ्घले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्व ३१ करोडको बजेट ठूलो आकारको रहेको भन्दै बजेटमा प्रस्तुत गरिएका स्रोतहरु आँफैमा सुनिश्चित हुन नसकेमा कार्यान्वयन पाटो चुनौतीपूर्ण हुने देखिएको बताएको छ । अध्यक्ष कार्कीले कोरोना महामारीबाट थला परेको नेपालको अर्थतन्त्रको शिथिलता र आर्थिक मन्दिलाई आगामी बजेटले पर्याप्त मात्रामा सम्बोधन गर्न नसकेको बताए ।
बजेटले इन्भेस्टमेन्ट पोर्टल अद्यावधिक, निर्यातमा इकमर्सलाई बढावा दिने, करार खेतीलगायत कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, ढुङ्गा गिटी निकासी खुलाउने जस्ता व्यवस्थाले अर्थतन्त्रमा सकारात्मक दिशामा लैजाने महासङ्घले बताएको छ । बजेटमा लामो समयदेखि बन्द रहेका जग्गाको कित्ताकाट फुकुवा गरिनु सकारात्मक भए पनि अनुमति प्राप्त ब्रोकरमार्फत घर जग्गा बेचविखन गरिने व्यवस्था राम्रो नभएको महासङ्घले बताएको छ ।
रु एक सयमा नै अनलाइनमार्फत कम्पनी दर्ता तथा खारेज एवम् पुँजी वृद्धि गर्दा दस्तुर नलाग्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष कार्कीको भनाइ छ । महासङ्घले सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशक घोषणा एवं आगामी वर्ष लगानी सम्मेलन गर्ने कार्यक्रमले लगानीमैत्री वातावरण सिर्जना गर्ने अवस्था आएको बताएको छ ।
अध्यक्ष कार्कीले नेपालीसँग सामान किन्ने विदेशी परियोजनालाई भ्याट फिर्ता दिने घोषणा, एक करोडसम्म टर्नओभर भएका कम्पनी÷फर्मलाई ४–४ महिनामा भ्याट तिर्ने व्यवस्था, अनलाईनबाट भन्सारमा डकुमेन्ट पेस गर्न पाउने सुविधा र भन्सार प्रयोगशालाको सुधार योजनाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।