प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह



जुम्ला । जिल्लाका आठ वटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासी लाई रोजगारी दिन थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ । पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति २८ हजार आठ सय ५० आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिए ।


सो कार्यक्रमअन्तर्गत पालिकामा १७ मध्ये १० आयोजना सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक करोड एक लाख १५ हजार बजेट छुटाइएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत चिन्डे खोला–तलिगाउँ गोरेटो बाटो, धोबी घाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुङ्गा बिछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाइँवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ थियो ।पालिकाभित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौँ ।

विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिए । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ७० लाख बजेट विनियोजित गरिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन् । उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । उक्त पालिकाभित्रका नौ वटै वडामा सो कार्यक्रम लागू गरिएको थियो ।