प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ​११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्।

आज अपराह्न प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 


काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गर्न लागिएको हो । 

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशसचिव एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत रहनेछन् ।

साथै टोलीमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका साथै डेढ दर्जन सचिव सहभागी हुनेछन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन्।

यसैगरी प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनेछन्।

यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ। सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन्।

केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।प्रधानमन्त्रीसहितको टोली आज दिउँसो साढे १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली जाने तयारी छ।

भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदले बताएका छन्।