पाइलटले ककपिटमा साथीलाई प्रवेश दिएको भन्दै एयर इन्डियालाई ३० लाख भारु जरिवाना



भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स ‘एयर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालयका अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो ।


अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।