परम्परा तोडेर भए पनि शरणार्थी प्रकरणमा मुछिएकालाई निलम्बन गरौं : गगन थापा



काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जोकोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने बताएका छन् ।

आज (बुधबार) काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्न नेतृत्वलाई माग गरे । उनले अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए ।


महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको बताए । उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुञ्जेलसम्म स्वतः निलम्बनमा पर्ने बताए । उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न नहुने महामन्त्री थापाले बताए । उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरेका छन् ।

उनले भने, ‘अहिले एउटा प्रकरणको बहस चलिरहेको छ, प्रकरणका बारेमा पार्टीमा बहस भयो, प्रकरणमा पार्टीका नेता मुछिनु भयो । नेता मुछिसकेपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने बकाइदासँग दोषीले सजाय पाउनुपर्छ । यो खालको राष्ट्रविरुद्धको अपराध, राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जो–जो मुछिन्छ सबैलाई कारबाही हुनुपर्छ । एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे कतै पनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन । केही साथीहरूले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन ।’