काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यलय, काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यलयले प्रकाउ परेका १६ जना र फरार १४ जनालाई प्रहरीले गरेको अनुसन्धानबाट प्राप्त प्रमाणहरुको आधारमा बुधबार काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुलाई ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधजस्ता पाँच वटा कसुरमा प्रतिवादी बनाइएको छ ।
अभियोगपत्र दर्ता गरिएकामध्ये काठमाडौ महानगरपालिका–३० का केशव तुलाधार, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर–१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका–४ घर भइ अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपा हुमागाईं फरार छन् । दीपाञ्जली हुमागाईं प्रहरीले प्रमुख अभियुक्त भनि किटानी गरेका केशव दुलालकी पत्नी हुन् ।
यस्तै, ललितपुर ठेचोका निरज राई, काठमाडौं जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ–६ का मोहनराज राई, बुढानीलकण्ठ १० का आशीष बुढाथोकी, मोरङ शनिश्चरे–१० की बिनिता सावदेन लिम्बु, रौतहट फतुहा हर्साह–९ का निरन्जरकुमार खरेल, झापा गौरादह–१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका–१० का प्रतीक थापा रहेका पनि फरार छन् ।
फरार रहेका निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । इन्द्रजित भने प्रहरी हिरासतमा छन् । प्रतीक तत्कालीन गृहमन्त्री थापाका छोरा हुन् ।