काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरले बताएको हो ।
सोही प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो। उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ।
तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाइल अफ गरी फरार भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।
सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।