झापा । सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ ।
कालोपत्रे गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रवार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभाबी बिस्कुन नसुकाउन आग्रह गरेका छन् ।
सूचनामा भनिएको छ, ‘कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।’
उनले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताए । विशेष गरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ ।
कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकमा बिस्कुन सुकाइन्छ ।