‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन



काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले बैठकमा टोपबहादुर रायमाझीलाई झट्केलो छोरी भनि दिएको अभिव्यक्ति संसदबाट रेकर्डबाट हटाइएको छ ।

मंगलबारको राष्ट्रियसभा बैठकको सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको बैठकमा रायमाझीले प्रयोग गरेको झट्केलो छोरो शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । अध्यक्ष तिमिल्सिनाले रायमाझीले प्रयोग गरेको शब्द राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को घ को व्यवस्थासँग मेल नखाने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।


वैशाख २४ गतेको बैठकमा रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका टोपबहादुरलाई जोगाउन एमाले अध्यक्ष ओली लागेको भन्दै आपत्ति जनाएका थिए । उनले टोपबहादुरलाई ओलीको झट्केलो छोरोको रुपमा तुलना गरेका थिए । यसैबीच मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य रायमाझीले आफूले सांसद टोपबहादुर रायमाझी हराएकाले आफूले खोजीका लागि त्यो शब्द प्रयोग गरेको बताए ।

उनले भने, ‘एउटा माननीय सूचना नदिइकन, काठमाडौं आउँदैछु भनेर हराएको अवस्था छ । उहाँ न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजी गरेको हो । यसमा उहाँहरुले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ ।’ सोमबारको बैठकमा एमालेले रायमाझीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।