क्यान्टोनमेन्टका लडाकुको रकममा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले लडाकू शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताए । माओवादी लडाकूको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताए ।


तत्कालीन अवस्थामै अडिट रिपोर्ट तयार भइसकेको र भ्रष्टाचार नभएको पुष्टि भइसक्दा अहिले राजनीतिक पूर्वाग्राही ढंगबाट माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको आरोप लगाउने गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ’यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’