ओलीसँगको भेटपछि प्रधानमन्त्रीले भने- कसैको दबाबमा पर्दिनँ, अनुसन्धान प्रक्रिया अघि बढ्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार करिब दुई घण्टा छलफल भएको छ । शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका छन् । भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए ।


‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् ।