दाङ । सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर-हापुरे सडक सञ्चालनमा आएको छ ।
पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागमन अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित पक्ष, यातायात व्यवसायी र प्रहरीबीच सहमति भएको हो ।
बिहीबार बिहान शान्तिनगर गाउँपालिका-७ मा रहेको माध्यमिक विद्यालय जाँदै गरेकी शिक्षिका सवार रा ७ ४२३७ नम्बरको स्कुटरलाई दङ्गीशरण-५ कुमालगडीमा रा १ ज ९२३ नम्बरको जिपले ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएकी शिक्षिका सीता लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
पीडित परिवार आन्दोलनमा उत्रिएपछि पीडित परिवारलाई किरिया खर्च वापत रु ५० हजार, बीमा बापतको ५ लाख ४५ दिनभित्र उपलब्ध गराउने र क्षतिग्रस्त स्कुटर मर्मत गर्ने सहमति भएपछि यातायात सञ्चालन भएको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले जानकारी दिए ।