११ बुँदे घोषणापत्र जारी गर्दै सकियाे तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन



काठमाडाैं । यहाँ आयोजित तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्यशृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिएको छ ।

वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ । नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ ।


विशिष्टीकृत सहकारी सङ्घमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने जनाइएको छ ।

त्यसैगरी सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धता जनाइएको छ ।