सहिदको सम्मानमा उद्यान निर्माण गरिँदै



ढोरपाटन । बागलुङको काठे खोला गाउँपालिका–१ स्थित धिमी खान सीङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ ।

गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिद उद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ ।


सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।

उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ ।

बागलुङ बजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ । सहिद उद्यानले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको काठे खोला गाउँपालिका–१ का अध्यक्ष खड्क थापामगरले जानकारी दिए ।

गाउँपालिकाले पहिलो कार्यकालमा रु ३० लाखको लागतमा चौतारालगायतका विभिन्न संरचना बनाएको छ । उद्यान राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अध्यक्ष थापा बताउनुहुन्छ । पार्कलाई व्यवस्थित र आकर्षक बनाउनका लागि गाउँपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको उनको भनाइ छ ।

‘अहिले निर्माण गर्न लागेको उद्यान विशेष खालको हो, यहाँ उद्यान मात्रै बन्न लागेको होइन, एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको हुने छ, राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका सहिदको सालिक पनि राखिने छ’, वडाध्यक्ष थापामगरले भने, ‘खास गरी उहाँहरूको सम्मानसँगै पर्यटन प्रवर्द्धनका लागि हामीले यहाँ उद्यान निर्माण गर्न थालेका हौँ, अझै थप जग्गा व्यवस्थापन गर्नुपर्ने छ, तर कामको सुरुआत भने भइरहेको छ, केही समयमै पार्कले पूर्णता पाउने छ ।’

अध्यक्ष थापामगर यो उद्यान ग्रामीण क्षेत्रकै उत्कृष्ट बन्ने बताए । उद्यानले गाउँको सुन्दरतालाई बढाउनुका साथै पर्यटक आकर्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उद्यानसँगै फूलबारी, पदमार्ग, मन्दिर र पोखरी निर्माण गर्ने योजना रहेको उनले बताए ।

उद्यान नजिक द्वन्द्व कालका इतिहाससँग सम्बन्धित अभिलेख राख्ने यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने उनले बताए । यहाँ बन्ने संरचनाका लागि करिब रु नौ करोड लाग्ने उनको भनाइ छ ।

काठे खोला गाउँपालिकाका अध्यक्ष राजु थापाले उद्यान सहिदको स्मृतिमा निर्माण गर्न थालेको बताए । काठे खोला–१ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उद्यानले ठुलो टेवा पुर्याउने भन्दै यसले बसाइँ सराइलाई पनि रोक्न मद्दत पुग्ने बताए ।

उद्यानलाई पूर्णता दिन गाउँपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको जनाउँदै यस वर्ष पनि प्राथमिकतामा राखेर काम गरेको सुनाए ।

उनले भने, ‘उद्यान निर्माणपछि गाउँमा पर्यटकको चहलपहल हुनेछ, अहिले दिनदिनै गाउँ छाड्दै बजार झर्नेको लर्को लागेको छ, यसले त्यसलाई रोक्न ठुलो भूमिका खेल्ने छ भने अर्को कुरा उद्यान वरपर राम्रो व्यवसाय सञ्चालन हुनेछ, त्यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने अपेक्षा लिएका छौँ, उद्यानलाई केही समयमै सम्पन्न गर्न पालिका र अन्य सरकारसँग समन्वय गरी काम गर्नेछौँ ।’